कर्णालीमा आठ पदमा ४४ जनाको उम्मेदवारी

जुम्ला  । कर्णालीमा आठ स्थानमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि ४४ जनाको उम्मेदवारी परेको छ । कर्णालीमा एक नगरपालिकाका उपमेयर, एक गाउँपालिकाका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र पाँच वडाध्यक्षको पद रिक्त छ । यी स्थानमा मंसिर १६ गते हुन लागेको निर्वाचनका लागि आइतबार भएको मनोनयन गर्दामा ४४ जनाले उम्मेदवारी दिएका छन् ।गाउँपालिका अध्यक्षका लागि सात जना, नगर उपप्रमुखका लागि छ जना, गाउँपालिका उपाध्यक्षका लागि सात जना र पाँच वडाध्यक्षका लागि २४ जनाले कर्णालीमा मनोनयन दर्ता गरेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । यहाँ अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गैडाबाजमा सात राजनीतिक दलबाट उम्मेदवारहरुले बाजागाजासहित आफ्नो उम्मेदवारी दर्ता गराए ।महावुमा नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल मगर, नेकपा एकीकृत समाजवादीबाट जगतबहादुर हमाल, नेकपा एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश कुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले गाउँपालिका अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका हुन् ।यस्तै दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि छ जनाको उम्मेदवारी परेको छ । यहाँ नेपाली कांग्रेसबाट रेशमबहादुर शाही, नेकपा एमालेबाट लालबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट ढकेन्द्र शाही, नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम मल्लले उम्मेदवारी दिएका छन् ।कांग्रेसबाट दैलेखको महाबु गाउँपालिका अध्यक्ष निर्वाचित लछुमन गुरुङको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएको थियो। यस्तै, एमालेबाट निर्वाचित दुल्लू नगरपालिका–१३ वडाका वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो ।जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा छ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट निर्वाचित नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको भूकम्पमा परेर २०८० कात्तिक १८ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ईन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादीबाट पवित्रा जैशीले मनोनयन गर्दा गराएका छन् ।यस्तै हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ। गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा बस दुर्घटना हुँदा २०७१ भदौ ४ गते मृत्यु भएको थियो । उनी माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए ।उपचुनावका लागि यहाँ नेपाली कांग्रेसले सविता बुढा, नेकपा एमालेले जाना शाही, नेकपा माओवादी केन्द्रले देवकी तिमिल्सेना, राप्रपाले संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीले बाचा बुढालाई उम्मेदवार बनाएको छ । यहाँ रामसरा खड्का साउँद र नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।यस्तै, कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि छ जनाको उम्मेदवारी परेको छ । यहाँ नेपाली कांग्रेसबाट पैलबहादुर शाही, एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, नेकपा माओवादी केन्द्रबाट नैशोभा शाही, राप्रपाबाट गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बमले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए। माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित परबहादुर शाही दुई वर्षअघि राँचुलीमा आएको पहिरोमा परेर बेपत्ता भएका थिए । यस्तै, जाजरकोटको कुशे गाउँपालिका–७ मा हुने वडाध्यक्षको निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ एमालेबाट डम्मरबहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उम्मेदवारी परेको हो । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असार ४ गते निधन भएको थियो । यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा हुने वडाध्यक्ष निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने, एमालेबाट नरबहादुर रोकाय, नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाक्री र नेकपा एकीकृत समाजवादीबाट ज्योति घर्तीको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकाको २०८० माघमा मृत्यु भएको थियो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । यहाँ कांग्रेसबाट मोतिराम खत्री, नेकपा माओवादी केन्द्रबाट जसीराम बस्नेत र नेकपा एकीकृत समाजवादीबाट हंसराज पुरीले उम्मेदवारी दिएका छन् । यस्तै, वीरबहादुर बस्नेतले यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको २०८० माघ २० गते जन्डिसका कारण निधन भएको थियो।



तपाईको प्रतिक्रिया