रारालिही स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर बन्द

सुत्केरी महिलालाई सकस

विजय रावत,
जुम्ला । जुम्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा रहेको ‘बर्थिङ सेन्टर’ आठ महिनादेखि बन्द हुँदा सुत्केरी महिलालाई सकस भएको छ । चार महिना भित्र बर्थिङ सेन्टरको भवन निर्माणका लागि सेवा बन्द गरिएको थियो । अहिले नयाँ भवन निर्माण सम्पन्न भइसकेको छ । अझै बर्थिङ सेन्टर संचालनमा आएको छैन । बर्थिङ सेन्टर भित्र चाहिने तातो,चिसो पानी र विद्युतको लाइन जोड्ने काम ढिलो हुदाँ सेवा प्रवाह अहिले बन्द भएको छ । उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न भइसकेको छ ।

अबको केही साता भित्र विद्युतको लाइन जोडेर बर्थिङ सेन्टर संचालनमा आउने तिला– २ का वडाध्यक्ष चन्द्र बोहोराले जानकारी दिनुभयो । बर्थिङ सेन्टरलाई चाहिने आवश्यक स्रोत साधनदेखी बजेटको व्यवस्थापन समेत गर्दा बन्दहुँदा राम्रो काम होइन । बर्थिङ सेन्टरको सेवा बन्द भएपछि तिलाका–१ र २ वडाका स्थानीयवासिलाई दुख भएको छ । तत्काल बर्थिङ सेन्टर संचालनका लागि सम्बन्धीत वडालाई परिपत्र गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।

बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन निरन्तर लागि परेको छु । अहिले पालिकाको एम्बुलेन्सले सुत्केरी महिलालाई जिल्लामा रहेको कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ल्याउन र पु¥याउन निःशुल्क गरेको तिला गाउँपालका उपाध्यक्ष  बुढाको भनाइ छ ।अहिले प्रसूति हुने सबैलाई पालिकाको कुडारी स्वास्थ्य चौकी र सदरमुकाम खलङ्गामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याउनुपर्ने बाध्यता रहेको छ । गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने गरेको यहाँका स्थानीयवासीले गुनासो गरेकाछन् ।

रारालिही स्वास्थ्य चौकीका अधिकृत छैठौं हिमाली खत्रीका अनुसार बर्थिङ सेन्टर नयाँ भवन निर्माण सम्पन्न भईसक्दा पनि संचालनहुन सकेको छैन । तालिमप्राप्त दक्ष प्रसूतिकर्मीबाट सेवा संचालन हुँदै आएको थियो । गत आर्थिक वर्ष २०८०।८१ मा २२ जनाले बर्थिङ सेन्टरमा सुत्केरी भएको छ । यो चालु आर्थिक वर्षमा कुनै पनि सुत्केरीले बर्थिङ सेन्टरमा सेवा नलिएको रारालिही स्वास्थ्य चौकीका अधिकृत छैठौं खत्रीको भनाइ छ ।

विगत लामो सयमदेखि चल्दै आएको बर्थिङ्ग सेन्टर भवन निर्माणका कारण बन्द भएको गाउँपालिका स्वास्थ्य संयोजक हर्क रावतको भनाइ छ । बर्थिङ सेन्टरबाट सेवाग्राहीहरूले सेवा लिन नपाएपछि गर्भवती महिला र सुत्केरी गराउने महिलाहरूले सास्ती खेप्नु परेको तिला– १ वडाध्यक्ष जंगबहादुर बस्नेतको भनाइ छ ।

गत वर्षको जेठदेखी यो चालुआवसम्म बर्थिङ सेन्टरको सेवा बन्द हुँदा प्रसूति सेवाकालागि सदरमुकाम र बाहिर जान यहाँका सुत्केरी महिला बाध्य भएकाछन् । गाउँ–गाउँमा बर्थिङ सेन्टर स्थापना भएपनि प्रभावकारी रुपमा सेवा दिन सकेकाछैन । बर्थिङ सेन्टर बन्द भएपछि सुत्केरीहुन आएका महिलाहरू समस्यामा परेकाछन् । लामो समयदेखि बर्थिङ सेन्टर सञ्चालन नहुँदा सुत्केरी हुने महिलाहरू समस्यामा परेकाछन् ।



तपाईको प्रतिक्रिया