जुम्लामा ९ हजार घरधुरी खानेपानी धाराको पहुँचमा

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका ६० वडाका करिब नौ हजार भन्दाबढी घरधुरीमा खानेपानी धाराको पहुँचमा पुगेकाछन् । जिल्लामा २४ हजार ४२२ घरधुरीमध्ये नौ हजार ८८६ घरधुरीमा मात्रै एक घर एक खानेपानी धारा पुगेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अक्कल महतले जानकारी दिनुभयो ।
बाँकी घरधुरीका नागरिकले सार्वजनिक धारा, कुवा, मूलको पानी र नदीको पानी खाइरहेकाछन् । कार्यालय प्रमुख महतले भन्नुभयो,“ कार्यालयको तथ्यांकअनुसार १० हजार ३२९ वटा घरधुरीले सार्वजनिक धाराको पानी खाँदै आएकाछन् । कुवाको पानी खाने ५९ वटा घरधुरीछन् ।” मूलधाराको पानी खाने तीन हजार ८७४ वटा घरधुरी, नदी–खोलाको पानी खाने २१४ घरधुरी र अन्य पानीका स्रोतबाट पानी खाने ६) घरधुरी रहेकाछन् । अहिलेसम्म ४० दशमलव ४७ प्रतिशत घरधुरीमा मात्रै एक घर एक खानेपानीका धारा पुगेको कार्यालय प्रमुख महतको भनाई छ । हरेक घरमा खानेपानीका धारा पु¥याउने सरकारी लक्ष्य भए पनि पुग्न सकेको छैन । जुम्लामा बृहत् खानेपानीका आयोजना बन्दैछन् । निकट भविष्यमा सबै घरधुरीमा खानेपानीका धारा पुग्ने गरि काम भइरहेको कार्यालय प्रमुख महतले बताउनुभयो ।
कर्णाली प्रदेशमा ९६ प्रतिशत नागरिकले दूषित पानी पिउँदै आएकाछन् । पर्याप्त खानेपानीको स्रोतभए पनि प्रशोधन अभाव र आवश्यकताअनुसार लगानी नहुँदा कर्णालीका ९६ प्रतिशत नागरिक खोलाको दूषित पानी पिउँने गरेको कार्यालय प्रमुख महतको भनाइ छ ।
कर्णाली प्रदेशको ८४ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको तथ्यांक छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार कर्णाली प्रदेशको कुल जनसंख्या करिब १७ लाख छ । जसमा ८४ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमाछन् । यद्यपि, खानेपानी पहुँच पुगेका घरधुरीमध्ये ९६ प्रतिशत नागरिक प्रदूषित पानी पिउन बाध्य रहेको सरकारी तथ्यांकले देखाएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको । नेपालको संविधान २०७२ मा खानेपानीलाई मौलिक हकका रूपमा राखिएको छ । कर्णालीका चार प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ । बाँकी ९६ प्रतिशत नागरिकले दूषित पानी पिउँदै आएका छन् ।

 



तपाईको प्रतिक्रिया