
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिंङ्गा आज फेरिएको छ । हरेक वर्ष घटस्थापनाका दिन लिंङ्गा फेर्ने प्रचलन अनुसार यस वर्ष पनि लिङ्गा फेरिएको चन्दननाथ भैरवनाथ मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताउनुभयो ।
मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन् । चन्दननाथ मन्दिरमा ५२ हाते लिंगा र ५२ हाते ध्वजा राखिएको हुन्छ । भैरवनाथ मन्दिरको लिंगामा ४८ हातको लिंगा र ४८ हातकै ध्वजा राख्ने चलन रहेको छ । वर्षमा ५२ हप्ताहुने भएकाले वर्षभरि नै चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिङ्गा सहित ध्वजा राख्ने प्रचलन रहेको छ । मन्दिरकै माटो लिएर घरमा जमरा राख्ने गरिने छ । मन्दिरमा जय स्तम्भ सहित पाँचवटा लिंङ्गा खडा गरिएको गुठि व्यवस्थापन समितिका अध्यक्ष थापाको भनाइ छ ।
घटस्थापनाकै दिन उत्पादन वृद्धि होस, भोकमरी नहोस भन्ने कामना सहित चन्दननाथ भैरबनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने समेत परम्परा रहेको जुम्लाका संस्कृति जानकार रमानन्द आर्चायले जानकारी दिनुभयो ।
एक दशक पहिलेसम्म लिङ्गा फेर्न तत्कालीन कर्णाली अञ्चलका जिल्लाबाट विभिन्न बस्तु पठाउने चलन थियो । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह आउथ्यो । हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का आउथ्यो भने मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी पठाइन्थ्यो । तर त्यो अहिले सबै रोकिएको छ ।
अहिले त सुरक्षाकर्मीकै भरमा लिङ्गो फेर्नु पर्ने अवस्था छ । भक्तजनको आर्कषण पनि घट्दै जान थालेको संस्कृतिका जानकार आर्चायले बताउनुभयो । कर्णाली प्रदेश सरकारले असोज १४ गते (कृष्ण त्रयोदशी) मा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने दिन जुम्लामा मात्र एकदिन सार्वजनिक बिदा दिएको थियो ।
कर्णाली सवाल । २०८१ असोज १७ गते बिहिवार