हेडलाइन

जनचेतनामूलक कार्यक्रम गरी मनाइयो तिलामा विश्व क्षयरोग दिवस

जुम्ला – जुम्लाको तिला गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइयोको छ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्छों , राष्ट्रिय अभियान, हाम्रो योगदान’ रहेको थियो । सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ मंगलबार विभिन्न कार्यक्रम गरी तिला गाउँपालिकामा दिवसलाई भव्यताका साथ मनाएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज कमल रावतले जानकारी दिनुभयो ।

दुई हप्ता वा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो वा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, बढी पसिना आउने र थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्यचौकी गएर परिक्षण गराउनुपर्ने रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतको भनाइ छ ।

यस वर्षका लागि तय भएको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्न खोजिएको छ । पालिकालाई क्षयरोगमुक्त बनाउनका लागि गाउँबस्तीमा स्वास्थ्य शिविर संचालन गर्दे आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हर्क रावतले जानकारी दिनुभयो ।

नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका साथ यस दिवसलाई भव्यताका साथ मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको तिला गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । देशभरका छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १४२ संस्थामा दुरुत परीक्षण सेवा निःशुल्क उपलब्ध रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार औषधि प्रतिरोधी उपचारका लागि ३१ वटा केन्द्र र ९८ वटा उपकेन्द्र संचालनमा छन् । त्यस्तै, १४१ स्थानीय तहमा क्षयरोगमुक्त नेपाल अभियान विस्तार गरी सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया