हेडलाइन

तिलामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज प्रभावित

जुम्ला – जुम्लाको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतको स्थानमा नयाँ अधिकृत मन्त्रालयले नपठाइएपछि गाउँपालिकाको दैनिक प्रशासनिक तथा विकाससम्बन्धी कामकाज प्रभावित भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

प्रशासकीय अधिकृत नहुँदा पालिकामा आर्थिक कारोबारदेखी योजनाको काम सम्पन्न भएका योजनाको भुक्तानी लगायतका काम ठप्प छन् । सम्बन्धी मन्त्रालयसंग प्रशासकीय अधिकृत पठाईदिन भनी गाउँपालिकाबाट पत्र पठाएपनि सुनुवाइ हुन सकेको छैन ।

नयाँ सरकार निर्माणपछि मात्र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पाउने भनी मन्त्रालयबाट जवाफ आएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई पुसको दोस्रो साता सरुवा भएर गएपछि उक्त पद रिक्त रहेको छ ।

नयाँ अधिकृत नआउँदा फागुन महिनादेखि कर्मचारीको तलबसमेत वितरण हुन सकेको छैन । ठेक्काबाट संचालनहुने योजनाहरुको काम अन्तिम चरणमा पुगेकाछन् । उपभोक्ता समितिबाट सम्पन्न भएका योजना र ठेक्काबाट सम्पन्न भएका योजनाको भुक्तानी समेत रोकिएको गाउँपालिका लेखा शाखा प्रमुख सर्पानन्द उपाध्यायले बताउनुभयो ।

चालु आव २०८२–८३ का लागि विनियोजन भएको पुँजीगत र चालु शीर्षकमा कुल बजेट रु ५५ करोड २१ लाख ८२ हजार बजेट विनियोजन भएकोमध्ये जसमा चालु आवको हालसम्म पुँजीगततर्फ कुल बजेटको १७ प्रतिशत र चालुतर्फ २४ प्रतिशत बजेटखर्च भएको गाउँपालिकाका लेखा शाखा प्रमुख उपाध्यायले बताउनुभयो ।प्रमुख शासकीय अधिकृत नहुँदा बजेट खर्चहुन सकेको छैन ।

गाउँपालिकाले यस आवमा आन्तरिक राजस्व संकलनको लागि अनुमान लक्ष्य २८ लाख ८ हजार ७५० रुपैयाँ लिएकोमध्ये चालु आवको आठ महिना फागुनसम्म ९ लाख ९७ हजार राजस्व संकलन भएको गाउँपालिका लेखा शाखा प्रमुख उपाध्यायको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको विकास निर्माण, सेवा प्रवाह तथा बजेट खर्चमा प्रभावितहुने तिला गाउँपालिकाले जनाएको छ । विजय रावत



तपाईको प्रतिक्रिया