
गोविन्द रावत,
जुम्ला । जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा रहेको पशुसेवा केन्द्र संचालनमा आएको छ । एक वर्षदेखि बन्द रहेको पशुसेवा केन्द्र आईतबारदेखी संचालनमा आएको हो । पशु प्राविधिक कर्मचारी नहुँदा पशुसेवा केन्द्र बन्दबारे गत माघ ९ गते विभिन्न मिडियाबाट समाचार प्रकाशन भएपछि तिला गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेको छ । पालिकामा रहेको पशु विकास शाखाबाट नायव पशु स्वास्थ्य प्रविधिक विरेन्द्रलाल महतलाई उक्त पशुसेवा केन्द्रका लागि खटाएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो । दरबन्दी अनुसार कर्मचारी नुहदाँ सेवा प्रवाहमा समस्या आएको हो । तीन जना पशु विकास शाखा हेर्ने कर्मचारी कार्यरतमध्ये एकजानको अवकाश भएपछि दुई जना कर्मचारीबाट सेवा प्रवाह भइरहेको थियो । अब बन्द रहेको जुम्लाकोट पशुसेवा केन्द्रका लागि एकजना कर्मचारी पठाएपछि सेवा प्रवाह संचालनमा आएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ । चाहिने आवश्यक औषधिको व्यवस्थापन समेत गरेर यहाँका स्थानीयवासिको सहजका लागि गाउँमै पशुसेवा केन्द्र संचालन गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । चाहिने महत्वपूर्ण औषधिको अभाव रहेको छ । पालिकामा रहेको पशु विकास शाखाबाट चाहिने औषधिको माग गरेको जुम्लाकोट पशुसेवा केन्द्रका नायव पशु स्वास्थ्य प्रविधिक विरेन्द्रलाल महतको भनाइ छ । उक्त पालिकाको वडा नं ८ र ९ भेडाबाख्रा पालन गर्ने क्षेत्र समेत हो । पशुसेवा केन्द्र बन्द भएपछि यहाँका पशुपालक किसान सेवा लिनबाट वञ्चित भएका थियो । विसं २०७६ देखि २०८० सम्म कार्यालय सहयोगीले सेवा केन्द्र खोल्दै आएका थिए । कार्यालय सहयोगी पनि सेवानिवृत्त भएपछिसेवा केन्द्र एक वर्षदेखि बन्द भएको थियो । सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवामार्फत माग गरिएको गाउँपालिकाले जनाएको छ ।
कर्णाली सवाल । २०८१ फाल्गुन १९ गते सोमवार