
जुम्ला। जुम्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत् सिफारिस सेवा सुरु हुने भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गरिने भएको छ। जिल्लामा अनलाइनबाट नागरिकताको सिफारिस सेवा संचालन गर्नेका लागि यहाँका आठवटै स्थानीय तहका ६० वटा वडामा विजुली र इन्टरनेटको पहुँचमा पुगेपछि अनलाइनबाट नागरिकता सिफारिस दिने तयारी गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिनुभयो । यस अघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ । अब पुस २८ गते स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतसँग पनि यही विषयमा छलफल गर्दै छौँ । प्रजिअ शाहीले भन्नुभयो ,”गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत् अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हाे। अनलाइन सिस्टमबाटै नागरिकताको सिफारिस दिन सकिन्छ । वडामा सिस्टममा जन्ममिति अपलोड गरेर सिधै प्रशासनको सिस्टममा सिफारिस आउने हुन्छ ।” अब सेवाग्राहीलाई निकै सहज हुने छ । प्रमुख प्रशासकीय अधिकृतको बैठकपछि एक हप्ता कर्मचारीलाई तालिम दिइने छ। माघ महिनादेखि अनलाइनबाट नागरिकताको सिफारिस उपलव्ध हुने व्यवस्थापन गरिने जुम्लाका प्रजिअ शाहीको भनाइ छ।
कर्णाली सवाल । २०८१ पुष २९ गते सोमवार