फर्केर हेर्दा : राजनीतिक उथलपुथलको वर्ष-२०२४

काठमाडौं । एउटा वर्ष सकिनु भित्तामा पात्रो फेरिनु मात्रै होइन । विगतमा भएका घटना र यसबाट पाठ सिक्दै आगामी सम्भावनाको खोजी पनि नयाँ वर्षले गर्छ । विगतमा भएका घटनाबाट व्यक्ति, समाज र राष्ट्रले धेरै शिक्षा लिनसक्छ । आगामी वर्षमा कसरी अघि बढ्ने भन्नेबारे मार्गचित्र बनाउन सक्छ । आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् सन् २०२५ सुरु भएको छ । नयाँ वर्षलाई स्वागत गर्दैगर्दा पुरानोलाई नसम्झिने कुरै भएन । सन् २०२४ मा विश्वमा धेरै घटनाहरू भए । अघिल्लो वर्ष विश्वमा ठुल्ठूला राजनीतिक घटनाहरू भए । विश्वका ठूला राष्ट्रमा चुनाव हुनेदेखि केही देशमा सत्तापलटका अप्रत्याशित घटना पनि भए । नोभेम्बरमा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनसम्म विश्वभर धेरै महत्वपूर्ण घटनाहरू भए । बंगलादेशमा विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले देश छोड्नुपर्‍यो । सिरियामा विद्रोह भयो । इजरायलले लेबनानमा हिजबुल्लाह लडाकुहरूलाई मार्न हतियारको रूपमा पेजर प्रयोग गर्‍यो ।अमेरिकामा ट्रम्पको कमब्याक, बंगलादेश र सिरियामा सत्तापलट
सन् २०२४ मा अमेरिकामा राष्ट्रपतिको निर्वाचन भएको थियो । चुनावमा डोनाल्ड ट्रम्पले ऐतिहासिक जित दर्ता गर्दै कमब्याक गर्नुभयो । इलेक्टोरल कलेजमा ट्रम्पले २९५ र कमला हृयारिसले २२६ मत प्राप्त गर्नुभयो । डोनाल्ड ट्रम्पले आगामी २० जनवरीमा अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनुहुने छ । २०२० को तुलनामा पनि ट्रम्पले युवामाझ राम्रो प्रदर्शन गर्नुभयो । आयकर घटाउने घोषणा र अध्यागमनको मुद्दा ट्रम्पको जितका लागि महत्वपूर्ण सावित भयो ।
सन् २०२४ मै भारतमा लोकसभा चुनाव सम्पन्न भयो । अप्रिल २०२४ र जुन २०२४ को बीचमा भारतमा चुनाव भएको थियो । लोकसभा चुनावमा बिजेपी नेतृत्वको एनडिए गठबन्धनले २९२ सिट जितेको थियो । एनडिएले सजिलै बहुमत हासिल गरेर सरकार बनाइसकेको छ । जसमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बननुभएको छ ।
यसैवर्ष रुसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको ६ वर्षको नयाँ कार्यकालका लागि निर्वाचित हुनुभयो । प्रायः विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीनजना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उनका आलोचकहरूले आरोप लगाएका थिए । पुटिनले ८७ प्रतिशत मत प्राप्त गर्दा प्रतिस्पर्धी निकोलाई खारितोनोभले ४.१ प्रतिशत, भ्लादिस्लाभ दाभान्कोले ३.८ प्रतिशत र लियोनिद स्लट्स्काईले ३.१५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संग्राममा भाग लिनेहरूलाई सरकारी जागिरमा ३० प्रतिशत कोटा दिइएको थियो । बंगलादेशमा भएको विद्यार्थीको प्रदर्शन विस्तारै हिंसात्मक झडपमा परिणत भयो र शेख हसिना देश छोडेर भाग्नुप¥यो । हसिनाले भारतमा शरण लिइरहनु भएको छ । अहिले बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । बंगलादेशमा सन् २०२५ को अन्त्यमा वा २०२६ को सुरुमा पुनः निर्वाचन हुनसक्ने अनुमान गरिएको छ ।

बशर अल-असदको पतन
सिरियामा इस्लामवादी विद्रोही समूह हयात ताहरिर अल-साम (एचटिएस)द्वारा नोभेम्बर २७ मा सुरु गरिएको ११ दिनको अप्रत्याशित आक्रमणपछि राष्ट्रपति बशर अल-असद देशबाट मस्को भाग्न बाध्य हुनुभयो । दमास्कसको पतनको एउटा प्रतीकात्मक क्षण कुख्यात सेदनया जेलबाट कैदीहरूको रिहाइ थियो । राजधानीको उत्तरमा रहेको त्यो जेल विशेष गरी २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि असद वंशको ५० वर्षको शासनअन्तर्गत यातना र मृत्युदण्डको प्रतीक थियो । देशको इस्लामवादी नेतृत्वको सरकारले देशमा रहेका अल्पसंख्यक र विदेशमा रहेका सरकारहरूलाई सबै सिरियालीको सुरक्षा गर्ने आश्वासन दिन खोजेको देखिन्छ । यद्यपि, अलकायदासँगको सम्बन्धका कारण अन्तर्राष्ट्रिय समुदायले नयाँ सरकारको गतिविधिलाई ध्यानमा राख्दै तत्काल सिरियामाथि लगाइएको प्रतिबन्ध हटाएका छैनन् । असदको निष्कासनपछि देशको हतियारहरू अन्तरिम सरकारको हातमा पर्नबाट रोक्न चाहेको भन्दै इजरायलले सिरियाको सैन्य स्थलहरूमा सयौँ आक्रमण गरेको छ । सिरिया लामो समयदेखि गृहयुद्धसँग लडिरहेको थियो । असद परिवारले सिरियामा विगत ५३ वर्षदेखि शासन गर्दै आएको थियो ।

लेबनान पेजर आक्रमण
इजरायलले लेबनानमा हिजबुल्लाह लडाकुहरूलाई मार्न हतियारको रूपमा पेजर प्रयोग ग¥यो । यसमा ब्याट्री नजिकै विस्फोटक पदार्थ राखिएको थियो र सही समय आएपछि विस्फोट गराइएको थियो । हिजबुल्लाह लडाकुहरूले लामो समयदेखि यसको प्रयोग गर्दै आएका थिए, तर उनीहरूलाई यसको बारेमा थाहा पनि थिएन । हमासले ७ अक्टोबरमा २०२३ मा इजरायलमा आक्रमण गरेको थियो । यस हमलामा १२०० जनाको मृत्यु भएको थियो भने हमासले २५१ जनालाई बन्धक बनाएको थियो । त्यसपछि इजरायलले गाजामा जवाफी कारबाही सुरु गरेको थियो । पहिले हवाई हमला र पछि स्थलगत कारबाही सुरु भएको थियो । आक्रमणमा हालसम्म ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । आक्रमणका कारण गाजाबाट लाखौं मानिस विस्थापित भएका छन् । इजरायलले हालसम्म हमासका धेरै ठूला नेताहरूलाई सन् २०२४ मा यो युद्ध रोक्न धेरै प्रयासहरू गरिसकेको छ । जुन अझै सफल हुन सकेको छैन । रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । जुन २०२४ मा पनि जारी रहृयो । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न चासो देखाउनुभएको छ । यदि उहाँले यो युद्ध रोक्नुभयो भने यो ठूलो सफलता हुनेछ ।
इजरायल र हमासबीच चलिरहेको युद्धमा इरान पनि अप्रत्यक्ष रूपमा संलग्न छ । यसले इजरायल र लेबनानमा सञ्चालित आतंकवादी संगठन हिजबुल्लाहसँग लडिरहेका हमासलाई सबै प्रकारको सहयोग उपलब्ध गराउँछ । इरानमा हमासको राजनीतिक शाखा प्रमुख इस्माइल हनियाको पनि इजरायलले हत्या गरेको थियो । इजरायली सेनाले २३ सेप्टेम्बरदेखि लेबनानी समूहमाथि ठूलो मात्रामा हवाई आक्रमण सुरु गरेको थियो । इजरायली हमलामा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहसहित धेरै कमाण्डर मारिएका छन् ।

भारत र क्यानडाको सम्बन्ध बिग्रियो
सन् २०२४ मा भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्धमा तनाव देखियो । क्यानडामा पृथकतावादी सिख नेता हरदीप सिंह निज्जरको हत्यापछि विवाद सुरु भएको थियो । ती नागरिक क्यानडाका नागरिक थिए । क्यानडाले यो हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएको छ । भारतले यसको कडा विरोध गरेको छ । स्थिति यतिसम्म पुग्यो कि दुवै देशले एक–अर्काका कूटनीतिज्ञलाई निष्कासन गरे । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युरोपेली संसद्को चुनावमा आफ्नो गठबन्धन एन्सेम्बलको हार बेहोरेपछि फ्रान्सेली विधानसभा भंग गर्नुभयो । प्रधानमन्त्री मिशेल बार्नियरको नेतृत्वमा रहेको गठबन्धन सरकार बजेटमा विश्वासको मत गुमाएपछि डिसेम्बरको सुरुमा पतन भएको थियो । श्रीलंकामा माक्र्सवादी जनता विमुक्ति पेरामुनाका नेता अनुरा कुमारा दिसानायकेले सेप्टेम्बरमा श्रीलंकामा राष्ट्रपति चुनाव जितेर विश्वलाई चकित पार्नुभयो । नेशनल पिपुल्स पावर (एनपिपी)का उम्मेदवार दिसानायकेको जेभिपी नेतृत्वको गठबन्धनले वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे र पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमल राजापाक्षेलाई पराजित गरेको थियो ।

सबैभन्दा तातो वर्ष
जलवायु परिवर्तनको असर गतवर्ष पनि जबरजस्त देखियो । विनाशकारी प्राकृतिक प्रकोपबाट विश्वको कुनै पनि भाग अछुतो रहेन, तर उत्तर अमेरिकामा चार र युरोपमा तीनवटा घटना आर्थिक रूपमा विनाशकारी थिए । बाँकी तीन चीन, ब्राजिल र दक्षिणपूर्वी एसियाली देशहरूमा पनि ठूलो क्षति रेकर्ड गरियो । गत असोजमा आएको वर्षाले नेपालको राजधानी काठमाडौंसहित आसपासमा ठूलो जनधनको क्षति गर्‍यो । भारतको केरलाको वायनाडमा गएको पहिरोले पनि ठूलो क्षति गर्‍यो । दक्षिण-पश्चिम एसियामा आएको आँधी यागीमा ८०० भन्दा बढीको मृत्यु भएको थियो । यागीले फिलिपिन्ससहित लाओस, म्यानमार, भियतनाम र थाइल्याण्डमा विनाश निम्त्यायो । चीनमा बाढीले १५.६ बिलियन डलरको क्षति पुर्‍यायो र ३१५ जनाको मृत्यु भयो । युरोपेली देशहरूमा आर्थिक विनाश ल्यायो । मध्य युरोपमा आँधी बोरिस र स्पेन र जर्मनीमा ठूलो बाढी जस्ता घटनाहरू भए । गरिब देशहरू सबैभन्दा बढी मारमा परे । गरिब देशहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपका कारण अर्बौं डलरको आर्थिक क्षति भएको छ । अत्यधिक वर्षाका कारण आएको आँधी, आँधी र बाढीका कारण यहाँका सार्वजनिक सेवाहरू ध्वस्त भए । वायुमण्डलमा कार्बनडाई अक्साइडको स्तर बढ्दै गएको छ । सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको छ । सन् २०२४ मा पहिलोपटक औसत विश्वव्यापी तापमान पूर्व-औद्योगिक समयको तुलनामा १.५ डिग्री सेल्सियस बढी थियो ।

पेरिसमा ओलम्पिकदेखि भारतलाई उपाधिसम्म
सन् २०२४ मा पेरिसमा ओलम्पिक खेलहरूको आयोजना भयो । ओलम्पिकमा विशेष गरी नयाँ खेलहरू भए । भारतीय टोलीले दक्षिण अफ्रिकालाई हराएर टी-२० विश्वकपको उपाधि जितेको थियो । भारतले गत वर्ष घरेलु मैदानमा भएको एकदिवसीय विश्वकप २०२३ को उपाधि गुमाएको थियो । तर, यसवर्ष उसले आफ्नो ११ वर्षको आइसिसी ट्रफी जित्ने खडेरीको अन्त्य गर्न सफल भयो । २०२४ मा पुरुष फुटबलको एशियाई कप आयोजना गरिएको थियो । २०२४ को टेनिस सिजनमा विभिन्न प्रमुख टेनिस टुर्नामेन्टहरू जस्तैः मड्रिड ओपन, विम्बलडन आयोजित भए । यसै वर्ष राफेल नडाल र नोभाक जोकोभिचका रूपमा दिग्गज खेलाडीहरूले प्रतिस्पर्धा गर्नुभयो । नेपालमा विभिन्न खेलकुदका लागि उत्साहजनक वर्ष थियो ।

अन्तरिक्षको दौडको निरन्तरता
सन् २०२४ मा अन्तरिक्षको दौडले विगतमा जस्तै निरन्तरता पायो । सन् २०२४ मा अन्तरिक्ष अन्वेषणमा जापानले जनवरीमा चन्द्रमाको क्रेटरमा स्लिम (स्मार्ट ल्याण्डर फर इन्भेस्टिगेसन द मुन) अवतरण गरी तीन महिनासम्म पृथ्वीमा तथ्यांक प्रेषित गर्न सफल भयो । चीनको एउटा अन्तरीक्ष अभियानले चन्द्रमाको सबैभन्दा टाढाबाट माटोको नमुना लिएर फिर्ता भयो । चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरीक्षयान अवतरण गरेको हो । नासाको पर्सिभेरेन्स रोभरले मंगल ग्रहमा सूक्ष्मजीवी जीवनको सम्भावित प्रमाण फेला पारेको छ । यो वर्ष इयु-जापान अन्तरिक्ष अभियानले बुध ग्रहको दक्षिणी धु्रवको तस्वीर लिन सफल भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा पनि गत वर्ष थप विकासहरू भए । हालको एआई प्रगतिहरूको सूची प्रभावशाली छ । एआईको प्रयोग आनुवंशिक अवस्थाको विश्लेषण गर्न, स्वास्थ्य सेवासुधार गर्न, उत्पादन क्षमता सिर्जना गर्न र अन्य धेरैका लागि प्रयोग भइरहेको छ । मानव इम्युनोडेफिसियन्सी भाइरस अर्थात् एचआइभीको खोप पत्ता लगाउने रेकर्ड पनि सन् २०२४ मा रेकर्ड गरिएको छ । यो खोपको नाम लेन्कापाभिर राखिएको छ । चरण ३ परीक्षणको क्रममा, यो ९६ प्रतिशत प्रभावकारी पाइयो ।फर्केर हेर्दा सन् २०२४ मा राजनीतिक उथलपुथलका धेरै अप्रत्याशित घटना भए । यसअघि जारी युद्ध रोकिएनन् । बरु उत्कर्षमा पुगे । २०२४ ले विश्वलाई थप केही युद्धको भार थोपार्‍यो । जलवायु परिवर्तनको मार घट्नुको साटो गत वर्ष पनि बढ्यो । प्रविधि, अन्तरिक्ष र केही स्वास्थ्य र खेलकुद क्षेत्रमा भएका उपलब्धिबाहेक सन्् २०२४ त्यति सुखद रहेन । नयाँ वर्ष सन् २०२५ ले सुखद खबरहरू ल्यायोस् । जारी युद्ध रोकिऊन् । विश्वमा शान्तिको सन्देश छाओस् । जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका घटना कम हुन् । हृयाप्पी न्यु इयर !नयाँ वर्ष २०२५ को शुभारम्भ एवं टोपी दिवस आजदेखि अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भ भएको छ । यस अवसरमा विश्वभर विविध कार्यक्रम गर्दै नयाँ वर्षलाई स्वागत गरिएको छ । सन् २०२४ लाई बिदा गर्दै आजबाट नयाँ वर्ष २०२५ लाई स्वागत गरिएको छ । नेपालीसहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

इसाई धर्मका प्रवर्तक जिसस क्राइष्ट (प्रभु यशु)को सम्झनामा उहाँको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।विगत केही वर्षदेखि जनवरी १ मा ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै आएको छ । स्वतः स्फूर्त रूपमा नेपाली युवाहरूले विगत नौ वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ तारिखको दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका छन् । नेपाली टोपी नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित होस् भन्ने उद्देश्यले यो अभियानको थालनी भएको बताइन्छ ।

नेपाली टोपीको प्रवद्र्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोसाक संरक्षण अभियान भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पुस १७ गतेलाई राष्ट्रिय पोसाक दिवसको रूपमा मनाउन सुरु गरेका थिए । सामाजिक सञ्जालबाट सुरु उक्त अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन जागरूक युवाहरू लागिपरेका छन् । नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले आ-आफ्नो धर्म, जाति र संस्कृतिअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ । आज नेपाली टोपी पहिरिएर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रूपमा नेपाली टोपीलाई स्थापित गराउन सहयोग गर्न अपिल गरिएको छ । यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीले पुस १७ गते आज धोती दिवस मनाउने निर्णय गरेको छ ।हिमालय टाइम्स बाट



तपाईको प्रतिक्रिया