प्रधानमन्त्री ओली आज जुम्ला आउँदै

जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने भएका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओली बुधबार बिहान ११ बजे जुम्ला आउने समय तालिका रहेको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिनुभयो ।
प्रतिष्ठानले पहिले पटक ५८ जना विद्यार्थीलाई दीक्षित गर्ने भएको छ । उक्त दीक्षान्तमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, अमेरिकास्थित हार्बड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङका डाइरेक्टर क्रिष्टिन मसिंगर समेत सहभागी हुने प्रतिष्ठानका उपकुलपति डाक्टर रावलले बताउनुभयो । गत भदौ २३ गते प्रधानमन्त्रीको व्यस्तताका कारण दीक्षान्त समारोह स्थगित गरी यहीँ कात्तिक २८ गते प्रतिष्ठानले कार्यक्रम तय गरेको थियो ।
प्रतिष्ठानका उपकुलपति डा.रावलका कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सकेका विभिन्न तहका ५८ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम तय भएको छ । प्रतिष्ठानको नवनिर्माण भएको शैक्षिक भवन उद्घाटन गर्ने सहितका विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री ओली जुम्ला आउने कर्णाली स्वास्थ्य विज्ञानले जनाएको छ ।
कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डा.डवलबहादुर धामीका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा.धामीको भनाइ छ । विजय रावत



तपाईको प्रतिक्रिया